मिराज ढुंगानाको समूहद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

by onn

काठमाडौं, ६ पुस – जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावना र अपेक्षामाथि धोका दिएको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले १० बुँदे माग सार्वजनिक गर्दै सोमबारदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने जानकारी दिएको हो । आन्दोलन शान्तिपूर्ण रहने जनाउँदै समूहले सबै पक्षलाई सहभागिताका लागि आह्वानसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जेनजी समूहका संयोजक ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म आत्मसात गर्न नसकेको र १०० दिनमै असफल भइसकेको दाबी गरे । उनका अनुसार आन्दोलन कुनै व्यक्ति वा नेताको राजनीतिक उचाइका लागि नभई प्रणालीगत सुधारका लागि भएको थियो, तर त्यसप्रति सरकार गैरजिम्मेवार बनेको छ ।

समूहले अघि सारेका मागहरूमा संविधान पुनर्लेखनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली ‘भ्रष्टाचार निर्मूल आयोग’ स्थापना तथा अदालतका फैसलाहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था प्रमुख रहेका छन् ।

यसैगरी, अघिल्लो आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष युवाको तत्काल रिहाइ, घाइतेको उपचार र आन्दोलनमा ज्यान गुमाएका परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग पनि राखिएको छ ।

विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैंको नेपाली’ नीतिलाई व्यवहारमा लागू गर्नुपर्ने, मिटरब्याज, सहकारी, लघुवित्त पीडित तथा उखु किसानका समस्या समाधान गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि समूहको सूचीमा छन् ।

ढुंगानाले वर्तमान सरकारले चुनावको विषयलाई मात्र प्राथमिकतामा राखेर आन्दोलनको मूल भावना बिर्सिएको आरोप लगाए । देशलाई निकास दिन सर्वपक्षीय सरकार गठन अपरिहार्य भएको उल्लेख गर्दै उनले सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर

Leave a Comment