काठमाडाैं, ११ साउन – नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह भएको छ । आज सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।
जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋण सहयोग र करिब २९ करोड लागतमा निर्माण सम्पन्न भएको यो देशकै पहिलो आधुनिक सडक सुरुङमार्ग हो । यो सुरुङमार्ग सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका लामो ट्राफिक जामको समस्या समाधान हुनेछ ।
उद्घाटन समारोहमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तनाका अकिहिको, नेपालका लागि जापानी राजदूत माएडा तोरु, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, विभिन्न मन्त्रालय तथा निकायका उच्चपदस्थ अधिकारीहरू, प्राविधिकहरू तथा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो ।
पूर्ण सञ्चालनमा अझै ३ महिना लाग्ने
सुरुङमार्गको भव्य रूपमा उद्घाटन गरिए तापनि आम सर्वसाधारणका सवारीसाधनले भने तत्कालै सो मार्ग प्रयोग गर्न पाउने छैनन् । आयोजनाका अनुसार सुरुवाती चरणमा सुरक्षा मापदण्डलाई उच्च प्राथमिकतामा राख्दै एम्बुलेन्स, दमकल, विपद् व्यवस्थापन र सुरक्षा निकायका अत्यावश्यक सवारीसाधनलाई मात्र सुरुङ प्रवेशको अनुमति दिइनेछ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारी परीक्षण (ट्रायल) गर्न अझै केही प्रक्रिया बाँकी रहेकाले चरणबद्ध रूपमा मात्र सुरुङमार्ग खुला गरिने जनाएको छ । अबको करिब तीन महिनासम्म सञ्चालन हुने परीक्षण अवधिमा सवारी साधनसँग शुल्क नलिने तयारी गरिएको छ ।
सुरुङमार्ग आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार, परीक्षणको समयमा गुड्ने सवारी साधनबाट शुल्क लिने वा नलिने भन्ने विषयमा सडक बोर्डले औपचारिक निर्णय गर्न बाँकी छ । यद्यपि, मन्त्री लम्सालले सुरुका तीन महिनासम्म शुल्क नलिन निर्देशन दिइसकेको उनले जानकारी दिएका छन् ।
इन्जिनियर पन्थीले भने,‘तत्कालका लागि १५ दिनसम्म आकस्मिक (इमर्जेन्सी) सवारी साधनहरूका लागि मात्र सञ्चालन गर्ने र शुल्क नलिने निर्णय भएको छ। बाँकी परीक्षण अवधिको हकमा मन्त्रीज्यूको निर्देशन अनुसार नै सडक बोर्डबाट निर्णय प्रक्रिया अगाडि बढ्नेछ ।’
सुरुङमार्गको निर्माण सम्पन्न भई परीक्षण सुरु भएसँगै सर्वसाधारण र यातायात व्यवसायीहरूले शुल्कबारे चासो राख्दै आएका छन् । आयोजनाले परीक्षण कालभरि सुरक्षा र प्राविधिक पक्षको सूक्ष्म अध्ययन गर्ने र सो अवधिमा मन्त्रीको निर्देशनबमोजिम नै सडक बोर्डले सहुलियत वा पूर्ण छुटको निर्णय गर्ने जनाएको छ ।
कति तोकियो टोल शुल्क? कसरी गर्ने भुक्तानी ?
सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत सवारी साधनका लागि पारदर्शी र वैज्ञानिक रूपमा टोल शुल्क निर्धारण गरेको छ । २०८२ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ प्रयोग गरी काठमाडौँ प्रवेश गर्दा र बाहिरिँदा फरक–फरक दस्तुर तोकेको थियोः
कार तथा भ्यानः काठमाडौँ भित्रिँदा रु. ६५ / बाहिरिँदा रु. ६०
मिनी बस तथा मिनी ट्रकः काठमाडौँ भित्रिँदा रु. ११५ / बाहिरिँदा रु. ८०
ठुला बस तथा ट्रकः काठमाडौँ भित्रिँदा रु. २६० / बाहिरिँदा रु. २००
भारी उपकरण (हेभी इक्विपमेन्ट)ः काठमाडौँ भित्रिँदा रु. ६०० / बाहिरिँदा रु. २५०
आयोजनाका अनुसार काठमाडौँ प्रवेश गर्दा हुने आर्थिक बचतको ३० प्रतिशत र बाहिरिँदा हुने बचतको ३६ प्रतिशतलाई आधार मानेर यो शुल्क तय गरिएको हो । शुल्क संकलनका लागि सुरुङमार्गमा आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित ‘एन–ट्याग’ को व्यवस्था गरिएको छ । सवारीमा टाँसिने यो स्टिकरमार्फत सीधै बैंक खाताबाट स्वचालित रूपमा शुल्क काटिनेछ । एन–ट्याग नभएका सवारीका लागि नगद तिर्ने विकल्प पनि उपलब्ध गराइनेछ ।
सुरुङमार्गको प्रयोग ऐच्छिक (वैकल्पिक) रहनेछ । कुल सवारीमध्ये ६० प्रतिशतले सुरुङ प्रयोग गरेमा वार्षिक ३५ करोड रुपैयाँ राजस्व उठ्ने र सो रकम सडक बोर्ड नेपालमार्फत सुरुङको मर्मतसम्भारमा प्रयोग गरिने आयोजनाको भनाइ छ ।
यात्रा समय ७ मिनेटमा सीमित, दुई/तीन पाङ्ग्रे र प्रज्वलनशील बोकेकालाई निषेध
सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरूले नागढुंगाको सागुँरो र जोखिमपूर्ण उकालो–ओरालोबाट मुक्ति पाउनेछन् । धादिङको सिस्नेखोलादेखि काठमाडौँको बलम्बुसम्मको यात्रा अब मात्र ७ मिनेटमा पूरा हुनेछ ।
हालको सडकमा रहेको १० देखि १३ प्रतिशतको तीव्र उकालोको साटो सुरुङमार्ग प्रयोग गर्दा साना सवारी साधनलाई कम्तीमा १५ मिनेट र ठुला सवारी साधनलाई ३५ मिनेटसम्म समय बचत हुने आयोजनाले जनाएको छ । यसले यात्रुको समय र इन्धन बचत गर्नुका साथै सवारी साधनको सञ्चालन खर्चसमेत उल्लेख्य घटाउनेछ ।
