काठमाडौँ महानगरले ४ सय छात्रालाई आत्मरक्षा तालिम दिने

by onn

काठमाडौँ, १३ असोज – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षासम्बन्धी दुईदिने तालिम दिने भएको छ ।

हिंसा पहिचान गर्न र जोखिमको अवस्थामा आफूलाई जोगाउन सक्ने सीप प्रदान गर्नु तालिमको उद्देश्य रहेको महानगरको शिक्षा विभागले जनाएको छ ।

महानगरभित्रका १० विद्यालयबाट ४०–४० जना छात्रा तालिममा सहभागी हुनेछन् । शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञानरश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम सञ्चालन हुनेछ ।

प्रशिक्षक सञ्जु महर्जनका अनुसार छात्रालाई गलत नियतले गरिएको स्पर्श वा हेराइ पहिचान गर्न र आक्रमणबाट हातखुट्टाको प्रयोग गरी बच्ने तरिका सिकाइनेछ। तालिममा सैद्धान्तिकभन्दा व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइनेछ ।

कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनपछि क्रमशः सबै विद्यार्थीलाई तालिम दिने योजना रहेको परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीले बताए ।

सम्बन्धित खबर