बूढीगण्डकीमा बाढी: उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

by onn

गोरखा, २५ असोज –  गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् । बाढी प्रभावित क्षेत्रमा जोखिममा परेका नागरिकको उद्धार, राहत वितरण तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको छ ।

स्थानीय होटल व्यवसायी गोपाल लामाका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोला किनारमा रहेका चार वटा गोठमा बसेका चार जना बेपत्ता भएका हुन् । उनीहरू गोठमा रहेको र बाढी आएपछि सम्पर्कविहीन भएको लामाले जानकारी दिएका छन् ।

बाढीले गोरखाका विभिन्न स्थानमा रहेका पुलसमेत बगाएको छ । आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल, धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज, माछाखोला झोलुङ्गे पुल, ठाडो भर्‍याङको झोलुङ्गे पुल र खोर्लाबेशी झोलुङ्गे पुल बाढीले बगाएको जनाइएको छ ।

गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको जानकारी दिएका छन् । उनका अनुसार घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ भने नदीको बहाव निरन्तर बढिरहेको छ ।

बाढीको जोखिम बढिरहेका बेला प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उद्धार गर्ने र राहत उपलब्ध गराउने कामका लागि हेलिकप्टर परिचालन गरिएको छ ।

चुमनुब्री गाउँपालिका – ६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने ५ जना र धाउनेमा बस्ने तीन घरका ५ जना सम्पर्कविहीन बनेका स्थानीय दिपेश लामाले जानकारी दिएका छन् ।  लामाका अनुसार उङ्गिलुङ खोलामा बिहान ४ बजे सुख्खा पहिरो खसेको थियो । पहिराका कारण खोला केही समय थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । बाढीपछि १० जना सम्पर्कमा नरहेको लामाको भनाई छ ।

आपत्कालीन सम्पर्क नम्बर

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सहयोग आवश्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ । एम्बुलेन्स: १०२, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४,  जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०, सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८ रहेका छन् ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

सम्बन्धित खबर