आईईईई (IEEE) को मानवीय प्रविधि प्रतियोगिता सम्पन्न, सामुदायिक समस्या समाधानका लागि नवीन प्रविधि प्रस्तुत

by onn

मंसिर, ललितपुर – समुदाय निर्देशित समाधानका लागि मानवीय प्रविधिको सदुपयोग (Leveraging Humanitarian Technology for Community-Driven Solutions) विषयक कार्यशाला ललितपुरमा सम्पन्न भएको छ। उक्त कार्यशालामा नेपालका १० वटा शैक्षिक तथा सामाजिक संस्थाका करिब ९० जना सहभागी भएका थिए।

विश्वकै सबैभन्दा ठूला प्राविधिक व्यावसायिक संस्थामध्ये एक इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स (IEEE) को Humanitarian Technologies पहलअन्तर्गत ‘सामाजिक प्रभावका लागि प्रविधि’ (Technology for Social Impact) शीर्षकमा आयोजित उक्त प्रतियोगिताको उद्देश्य समुदायका वास्तविक समस्या समाधान गर्न नवीन प्रविधिको विकासलाई प्रोत्साहन गर्नु रहेको थियो।

अस्ट्रेलियास्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (UTS) का डा. सोजेन प्रधानको नेतृत्वमा आयोजित कार्यशालामा सहभागी टोलीहरूले समुदायका विद्यमान समस्या समाधान गर्न सक्ने तथा स्थानीय समुदायले सहजै प्रयोग र सञ्चालन गर्न सक्ने प्रविधिमा आधारित नवीन समाधानहरू विकास गरी प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोस्टन कलेज, युवा कनेक्टस् (स्टोरी साइकल), पुल्चोक क्याम्पस, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, कान्तिपुर इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज तथा नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका विद्यार्थी तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको विशेषता भनेको सहभागीहरूले समुदायका समस्याहरूको विश्लेषण गरी त्यसको समाधानका लागि प्रविधिको अवधारणा तथा डिजाइन विकास गरेर निर्णायक मण्डलसमक्ष प्रस्तुत गर्नु थियो। सीमित समयभित्रै व्यावहारिक तथा समुदायमैत्री समाधान विकास गर्न सफल भएकोमा निर्णायकहरूले सहभागीहरूको प्रशंसा गरेका थिए।

वर्ल्डलिंक कम्युनिकेसन्सकी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) निर्देशक अनुपा भण्डारी जलान, वाइज याकका प्राध्यापक डा. सुरेश मानन्धर तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सल्लाहकार सुनिल बानियाँ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले प्रस्तुत परियोजनाहरूको मूल्याङ्कन गरेको थियो।

प्रतियोगितामा ख्वप इन्जिनियरिङ कलेजको “Design and Implementation of UHF Eggbeater Antenna for LoRa Disaster Communication” शीर्षकको परियोजना प्रथम भएको थियो भने युवा कनेक्टस्को “Community Forest Fire Mapping” शीर्षकको परियोजना दोस्रो भएको थियो।

एभरेष्ट इन्जिनियरिङ कलेजका उपप्राचार्य इन्जिनियर राजन लामाले विजयी टोलीहरूलाई पुरस्कार वितरण गरेका थिए। प्रथम हुने टोलीका सदस्यहरू लुनिभा महर्जन, जानकी सिंह, सलिना प्रजापति र सुजल प्रधानलाई जनही एक–एक थान ग्यालेक्सी ट्याब्लेट प्रदान गरिएको थियो। त्यसैगरी, दोस्रो हुने टोलीका सदस्यहरू हिमानी काफ्ले, शुभ राई, राजेश महत र मिरा लामिछानेलाई Veel का तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

कार्यशालाले इन्जिनियरिङ तथा सूचना प्रविधिको ज्ञानलाई समुदायका वास्तविक आवश्यकता र समस्यासँग जोड्दै सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्न सक्ने नवीन प्रविधिको विकासमा विद्यार्थीहरूलाई प्रोत्साहित गरेको छ। साथै, मानवीय प्रविधिको प्रयोगमार्फत विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा स्थानीय समुदायको जीवनस्तर सुधारका लागि युवा इन्जिनियर तथा अन्य सहभागीहरूको सिर्जनशीलता र नवीन सोच उजागर गर्ने अवसर प्रदान गरेको छ।

कार्यक्रमका संयोजक डा. प्रधानका अनुसार विगत केही वर्षदेखि उनको नेतृत्वमा नेपालमा विभिन्न समुदायकेन्द्रित तथा अनुसन्धानमूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। ती कार्यक्रमहरू विशेषगरी प्रविधिमा आधारित शिक्षा, खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), क्षमता अभिवृद्धि, पर्यटन, विपद् व्यवस्थापन तथा रोजगारी सिर्जनाका क्षेत्रमा केन्द्रित रहेका छन्।

यिनै कार्यक्रमअन्तर्गत विगत करिब एक वर्षदेखि प्रविधिमैत्री शिक्षाको प्रवर्द्धनका लागि मन्थलीका विभिन्न सामुदायिक विद्यालयहरूमा शिक्षक तालिम कार्यक्रम सञ्चालन हुँदै आएको डा. प्रधानले जानकारी दिए।

साथै, यस्ता कार्यक्रमहरूलाई थप सुदृढ र प्रभावकारी बनाउँदै आगामी दिनमा सरकारी निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको समन्वय र सहकार्यमा थप कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको उनले बताए।

विभिन्न अन्तर्राष्ट्रिय प्रतिष्ठा प्राप्त वैज्ञानिक तथा प्राविधिक जर्नलहरू प्रकाशित गर्दै आएको आईईईई (IEEE) का विश्वभरका करिब १९० देशमा पाँच लाखभन्दा बढी सदस्य छन्। यस संस्थाले विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, प्राविधिक मापदण्ड निर्धारण, व्यावसायिक क्षमता अभिवृद्धि तथा मानव कल्याणका लागि प्रविधिको सदुपयोग गर्ने क्षेत्रमा कार्य गर्दै आएको छ।

सम्बन्धित खबर