अस्ति कुशको शव बनाएर दाहसंस्कार, आज जीवितै उद्धार

by onn

काठमाडौं – भोटेकोशी बाढीमा परेर बेपत्ता भएकी नुवाकोट बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले मृत ठानेर कुशको शव बनाई दाहसंस्कारसमेत गरिसकेको थियो। तर, बाढी आएको ११ दिनपछि शनिबार उनी जीवितै उद्धार भएपछि परिवार, स्थानीय र उद्धारकर्तासमेत आश्चर्यमा परेका छन्।

बाढीले घरसहित बगाएपछि चण्डिका श्रेष्ठ र उनका श्रीमान् आनन्द श्रेष्ठ बेपत्ता भएका थिए। काठमाडौंमा रहेका उनका दुई छोरा आशिष र अनिश परिवारसँगै खोजीमा जुटे पनि लामो समयसम्म कुनै पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको थियो।

दुवै छोरा आमा–बुवाको आशा मारेर काजकिरियामा बसिरहेका बेला शनिबार बिहान एकाएक चण्डिका श्रेष्ठ जीवितै भेटिएको खबर आयो।

बाढीले बगाएर पुर्‍याएको क्षतिग्रस्त घरभित्रबाट मानिसको आवाज आएपछि स्थानीयले उद्धार टोलीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र उद्धारकर्मीले उनलाई जीवितै बाहिर निकालेका हुन्।

स्थानीयका अनुसार चण्डिकाको घर बाढीले आफ्नो पुरानो स्थानबाट धेरै परसम्म बगाएर पुर्‍याएको थियो। सोही बगाएर पुर्‍याइएको र क्षतिग्रस्त घरभित्र उनी जीवितै भेटिएकी हुन्।

आमा जीवितै भेटिएपछि काजकिरियामा बसेका छोराहरूका लागि यो खबर विश्वास गर्नसमेत कठिन भएको परिवारजनले बताएका छन्। पछि पुरोहितले धार्मिक विधिअनुसार काजकिरिया फुकुवा गराएका छन्।

चण्डिकालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

यद्यपि, उनका श्रीमान् आनन्द श्रेष्ठ भने अझै बेपत्ता छन्। परिवार र स्थानीयले उनको खोजी जारी राख्न माग गरेका छन्।

बाढीले बगाएका तथा पुरिएका घरहरूमा ११ दिनपछि पनि एक व्यक्ति जीवितै भेटिएपछि स्थानीयले अब क्षतिग्रस्त सबै घरमा व्यापक खोजतलास गर्न सरकारसँग आग्रह गरेका छन्।

स्थानीयका अनुसार बेत्रावती क्षेत्रमा बाढीबाट ठूलो क्षति पुगेको छ र सम्पर्कविहीन रहेका धेरै व्यक्तिका परिवारले समेत कुशको शव बनाएर अन्तिम संस्कार गरी काजकिरियामा बस्न थालेका छन्।

११ दिनपछि चण्डिका श्रेष्ठ जीवितै भेटिएको घटनाले भने बाढीग्रस्त क्षेत्रमा अझै पनि खोज तथा उद्धारको सम्भावना बाँकी रहेको संकेत गरेको स्थानीयहरूको भनाइ छ।

सम्बन्धित खबर