सप्तरी, ११ असोज – लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ। बाढीका कारण ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर डुबानमा परेका छन्।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए।
उनका अनुसार बाढी प्रभावितका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको छ। पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको उनले बताए।
लगातारको वर्षा र नदीको जलसतह बढिरहेकाले सप्तकोशी आसपासका बस्तीमा थप सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।

