एएफसी एसियन कप २०१९ मा ताजिकिस्तानसँग नेपाल २–१ ले पराजित

काठमाडौं, २० भदौ – एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत नेपाल र ताजिकिस्तानबीचको खेल ताजिकिस्तानले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ताजिकिस्तानले पहिलो हाफमै २ गोल गरेको थियो ।

दोस्रो हाफमा नेपालका विमल घर्ती मगरले एक गोल फर्काए पनि थप गोल गर्ने नेपालका थुप्रै प्रयास विफल भए । अञ्जन विष्टको पासमा बिमलले गोल गरेका थिए । बिमल नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्दै ३९औं मिनेटमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा मैदान छिरेका जर्ज प्रिन्स कार्कीले पनि चमत्कार देखाउन सकेनन् ।

खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।

पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गरेका थिए ।

एएफसी सोलिडारिटी कप जितेको हैसियतमा एएफसी एसियन कपको छनोट खेल खेलेको नेपालको यो तेस्रो खेल हो । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । होम एण्ड अवेका आधारमा चल्ने छनोटमा नेपालले यसअघि दुई खेल खेलिसकेको छ ।

नेपालले पहिलो खेल फिलिपिन्ससँग ४–१ गोलअन्तरले हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बटुलेको थियो ।

छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले अवे खेल अब १० अक्टोबरमा ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । त्यसपछि नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार