आन्दोलन रोक्न मधेसी दललाई सकस

काठमाण्डौ,२५ भदौ – सिरहा सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए ।

साँझ घर फर्केका यादव चौधरी मत माग्न आएको परिवारले जानकारी दिएपछि थप आक्रोसित बनेका थिए । उनले भने ‘कुनै बेला ममाथि २८ वटा मुद्दा लगाउने यी पूर्वपञ्चलाई म कसरी फोरम हो भनेर मत दिने ।’

०६३ माघको पहिलो मधेस विद्रोहका बेला यादव लहानमा आन्दोलनको नेतृत्वकर्तामध्येका हुन् । ५ माघ ०६३ मा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि पहिलो मधेस आन्दोलन चर्किएको थियो । आन्दोलनको कृष्णबहादुरले नै लहानमा नेतृत्व गरेका थिए ।
उपेन्द्र यादवको कार्यशैलीप्रति असहमति जनाउँदै पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामै फोरम छाडेका यादव त्यसयता स्वतन्त्रपूर्वक जीवन बिताइरहेका छन् । पहिलो मधेस आन्दोलन तथा गौरकाण्डपछि उनीमाथि अझै ५ वटा मुद्दा चलिरहेको छ ।

‘आन्दोलन गरी फोरमलाई राजनीतिक शक्ति बनाउने हामी आज त्यतिकै बरालिएका छौं । जिन्दगीभर राप्रपामा रहेका लक्ष्मण चौधरी हाम्रो नगरपालिकामा फोरमबाट मेयरको टिकट पाएका छन्’, यादवले आक्रोशयुक्त टिप्पणी गर्दै भने । चौधरी पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाबाट फोरम प्रवेश गरेका थिए ।
लहान आन्दोलनबाटै राजनीतिक हैसियत पाएको फोरम नेपालको अवस्था चित्रित गर्दै यादवले भने, ‘फोरम टिक्दैन भनेर पहिलो संविधानसभालगत्तै मैले गरेको भविष्यवाणी अहिले मिल्दै गएको छ ।’

दुईवटा मधेस विद्रोहपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल सिरहा र सप्तरीका ९० प्रतिशत सिटमा विजयी भएको थियो । ६ वटा निर्वाचन क्षेत्र भएको सिरहाबाट ५ वटामा फोरम विजयी भएको थियो भने सप्तरीका ६ मध्ये ४ सिटमा फोरमकै उम्मेदवार विजयी भएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार