गृहमन्त्री शर्माको ट्राफिकलार्इ निर्देशन: ‘पैदलयात्रुबाट पैसा नलिनु’

काठमाडौं, ३० जेठ – गृहमन्त्री जनार्दन शर्माले पैदलयात्रुलार्इ जरिवाना स्वरुप पैसा नअसुल्न ट्राफिक प्रहरीलार्इ निर्देशन दिएका छन् । ट्राफिकले पैदलयात्रुलार्इ लक्षित गरेर चलाएको अभियानको चौतर्फी आलोचना हुन थालेपछि ट्राफिक प्रहरीलार्इ गृहमन्त्री शर्माले जरिवाना नलिन निर्देशन दिएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटोकाटेको भन्दै निहत्था पैदलयात्रुलार्इ जरीवाना असुल्ने र थुन्ने सम्मको कारबाही अघि बढाएको थियो ।

ट्राफिक प्रहरीले आकाशेपुल र जेब्राक्रसिङ भएको ठाउँबाट बाटो काटेको भन्दै स्थलगतरुपमा दुर्इ सय रुपैयाँ जरीवाना र जरीवाना नतिर्नेलार्इ तीन घण्टा नियन्त्रणमा लिने अभियान चलाएको थियो ।

अब जरीवानाको सट्टामा आधा घण्टा सचेतना जागरण गराउन क्लास दिने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बताए । उनले भने, ‘ पैदलयात्रीबाट पैसा जरीवाना गराउँदै कसैसँग हुने र कसैसँग नहुने भएकोले सचेतना क्लास लिने गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

यसका अलावा जनचेतनामुलक कार्यक्रमहरु गर्ने र प्रत्येक १ सय २० मिटरको दुरीमा जेब्राक्रसिङ बनानउने काम भइरहेको नायब महानिरीक्षक लामाले बताए । सुरूका दिनहरुमा हरेक ठाउँमा चिलले कुखुरा समाए जस्तै गरि अपमानपूर्ण व्यवहार गरेर पैदल यात्रीलार्इ हराउने दिने गरेको गुनासाहरु बढेपछि ट्राफिक अहिले अलि नरम देखिन थालेका छन ।

यसैगरि ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले एक वक्तव्य जारी गर्दै नियम लागू गर्ने सिलसिलामा सर्वसाधारण तथा पैदलयात्रीको मर्यादा तथा सहजतालाई समेत ध्यान दिँदै आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारका सम्वन्धित निकायलाई आग्रह गरेको थियो ।

वक्तव्यमा उपत्यकामा ट्राफिक प्रहरीले नागरिकलाई दुव्र्यवहार गरेको घटना पाईएको उल्लेख गर्दै सर्वसाधारणलाई प्रभाव पार्ने यस्ता नियम लागू गर्नु अगाडि पूर्वाधार निर्माण गर्न समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार