देउवालार्इ ओलीको प्रश्न, ६५ वर्षमै वृद्धभत्ता किन दिएको ?

काठमाडौं,११ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले बुधबार ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको थियो । सरकारका पछिल्ला निर्णयहरुको विरोध गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले बैंशमै वृद्धभत्ता दिने निर्णय सरकारले गरेको भन्दै कडा आलोचना गरे ।

ओलीले देउवाको आलोचना गर्दै भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनी वैशमै बृद्धभत्ता खाने हो ?’ भावी सरकारका प्रधानमन्त्रीका रुपमा रहेका केपी शर्मा ओलीले सरकारले गरेका पछिल्ला निर्णयहरु अर्को सरकारले खारेज गरिदिनेसमेत बताएका छन् । साथै उसले संविधान, कानुन र राष्ट्र हित विपरितका निर्णयहरु नयाँ देउवा नेतृत्वको सरकारले अस्वीकार गर्ने समेत बताएको छ ।

ओलीले कर्मचारीलाई स्वेच्छिक अवकास दिने सरकारको निर्णयको समेत विरोध गरेका छन् । उनले उल्टै नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेला सरकारले भएका कर्मचारीलाईसमेत ६० अर्ब खर्च गरेर विदा गर्न लागेको भन्दै सरकारको आलोचना गरे । आलीले देउवा सरकार संविधानको गलत ब्याख्यामा टिकेको भन्दै सरकारबाट बाहिरिने बेला जथाभावी निर्णय गरेर देशको अर्थतन्त्रलाई नै संकटमा पार्न खोजेको आरोप लगाए ।

साथै अध्यक्ष ओलीले कोमल वलीलाई राष्ट्रियसभा सदस्यको टिकट दिइएकोमा पार्टीभित्र असन्तुष्टी नरहेको दाबी गरे । उनले नयाँलाई चान्स दिए पनि विरोध र नदिए पनि विरोध गर्ने प्रवृत्ति बाहिर रहेको तर पार्टीभित्र असन्तुष्टी नरहेको जिकिर गरे । साथै उनले वलीका विरुद्धमा कांग्रेसलेसमेत उम्मेदवारी नदिएर उनलाई सर्वसम्मत बनाएकोसमेत दाबी गरे ।

यसैबीच अध्यक्ष ओलीले एमाले सांसद तथा पूर्व डीआईजी नवराज सिलवाललाई प्रहरीले खोजिरहेको प्रति आपत्ती जनाउँदै त्यसबारे एमाले नेतृत्वको सरकारले छानबिन गर्ने बताए । पत्रकारको प्रश्नमा ओलीले सरकारले सिलवाललाई खोज्न प्रहरी परिचालन गरेर तमासा गरेको भन्दै सिलवाल सपथ लिन आउने बताए । उनले दीपक मनाङेबारे भने आफूलाई कुनै चासो नरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार