काठमाडौं ल्याइएका डा केसीले भने, ‘अस्पताललाई युद्धभुमी बनाएर अपहरण शैलीमा ल्याइयो ‘

पुरानै अनशनस्थलमा राखियो डा. केसीलाई

काठमाडौं – २१ दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा. गोविन्द केसीले नेकपा नेतृत्वको सरकारले बल प्रयोग गरि अस्पताललाई युद्धभुमी बनाएर अपहरण शैलीमा काठमाडौं ल्याउँदा गरिएको ज्यादतीको घोर भत्सर्ना गरेका छन्। प्रधानमन्त्री खड्ग प्रसाद ओलीको नेतृत्वको सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत गरिएको गरिएको कार्यको केसीले भत्सर्ना गरेका हुन्।

केसीलाई राजधानी ल्याएलगत्तै त्रिवि शिक्षण अस्पतालको ‘ईएनटी’ भवनस्थित पुरानो अनशनस्थलमै राखिएको छ। यसअघि पनि शिक्षण अस्पताल परिसरमै उनी १४ पटक अनशन बसेका थिए। केसीतर्फका वार्ता टोलीका सदस्यको मागअनुसार नै उनलाई शिक्षण अस्पतालमा राखिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा ल्याइएपछि सहयोगी मार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा केसीले अहिलेसम्मको ऐक्यवद्धताको लागि सार्वजनिक रुपमा धन्यवाद दिदै थप ऐक्यवद्धताको लागि अपिल समेत गरेका छन्।

सरकारले काठमाडौं ल्याउन जवर्जस्ती गरेपनि आफ्नो माग पुरा गराउन कुनै तदारुकता नदेखाएकोमा रुष्ट केसीले अस्पतालमा पत्रकारसँगको कुराकानीपछि आफूले कुनै औषधी नलिने र मोनिटर पनि प्रयोग नगर्ने बताएका छन्। श्वास फेर्न गाह्रो हुँदा अक्सिजन लिने बाहेक अन्य कुनै पनि औषधी नलिने पनि केसीले प्रष्ट पारेका छन्।

छलछाम र कपटको नमुना केपी सरकारले जुम्लामा देखाएको केसीका सहयोगीहरुले बताएका छन्। प्रहरीको एक व्यक्तिलाई गोली प्रहार भएर मृत्यु भएको झुटो जानकारी फैलाएर केसीलाई मनोवैज्ञानिक दवावमा पारि काठमाडौं ल्याइएको केसीका सहयोगीले पत्रकारलाई जानकारी दिए। काठमाडौं ल्याउने बेलामा कर्फ्युको स्थित सिर्जना गरेर आफूहरुलाई काठमाडौं ल्याइएको ति सहयोगीले बताए।

सत्तारुढ दलका कार्यकर्ताले त केसी काठमाडौं नगए कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान नै जलाइदिने धम्की दिएपछि केसी रुदै काठमाडौं फर्किएको केसीका सहयोगीले बताए। अाफ्नो कारणले अर्बौको सम्पतिमा क्षती नपुगोस भनेर केसी काठमाडौंबाट गएको आर्मीको हेलिकप्टरमा काठमाडौं फर्कन राजी भएका थिए। काठमाडौं फर्कने बेलामा केसीलाई स्थानिय महिलाहरुले रुदै फूलमाला दिएर बिदा गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार