बिमस्टेक को चौथो शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै के-के भने ?

काठमाडौं, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि  बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । अध्यक्ष राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका हुन् । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।

पालै-पालो सबै देशका पाहुनालाई आसन ग्रहण गराईएपछि नेपाली राष्ट्रिय गान बज्यो । लगत्तै प्रधानमन्त्री केपीश शर्मा ओलीले सम्मेलनको शुभारम्भ गरे । उनले  सम्मेलनमा सहभागि बिम्स्टेक राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखलाई नेपालीमा स्वागत गरे । सम्मेलनको सुरुवात उनले नेपाली भाषाबाटै गरेका हुन् । पछि, भने उनले अंग्रेजीमा बक्तव्यलाई अघि बढाए ।

बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपीश शर्मा ओलीले भने, ‘हामीले सम्बृद्ध क्षेत्र र खुसी जनताको चाहना राख्नुपर्छ।’ ओलीले आफ्नो १६ मिनेट लामो भाषणमा सबै खालको आतंकवाद पराजित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले हिमाल र समुद्रलाई जोड्न बिमस्टेक अवधारणामा सबै सदस्यहरुले समान अवसर प्रयोग गर्नुपर्ने पनि बताएका छन्।

सम्मेलनका लागि सबै देशका राष्ट्रध्यक्ष एवं सरकार प्रमुख काठमाडौँ आइपुगेका छन् । ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले १५-१५ मिनेट मन्तव्य राख्नेछन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ

नमस्कार,

भगवान् गौतम बुद्ध र सगरमाथाको भूमिमा सबैलाई स्वागत छ । शान्ति र सामञ्जस्यताको भूमिमा सबैको स्वागत गर्छु ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी मित्रराष्ट्रहरूका महामहिम राष्ट्र-सरकार प्रमुख तथा प्रतिनिधिहरूलाई काठमाडौंमा न्यानो स्वागत गर्न पाउँदा नेपाल सरकार र नेपाली जनताले सम्मानित महशुस गरेका छौं । छोटो समयका बावजुद बिमस्टेक नेताहरूले यस सम्मेलनलाई दिनुभएको सहमति र विनित उपस्थितिका लागि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु । र, काठमाडौंको बसाइ सुखद हुने कामना गर्दछु ।

महामहिम राष्ट्र-सरकार प्रमुखहरू,

आजको हाम्रो यस गरिमामय उपस्थितिलाई संसारले विस्फारित नजरबाट हेरिरहेको छ । किनकि, विश्वको जनसंख्याको २२ प्रतिशत हिस्सा अर्थात् एक अर्ब ६० करोड जनसंख्या तथा २.८ ट्रिलियन अमेरिकी डलरको संयुक्त कुल गार्हस्थ उत्पादन (जीडीपी) रहेको एक क्षेत्रका रूपमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र कारवाहीले विश्वव्यापी राजनीतिक तथा आर्थिक व्यवस्थामाथि प्रभाव पार्नेछ । यस पृष्ठभूमिमा हामी यहाँ बंगालको खाडी क्षेत्रको शान्ति, समृद्धि र स्थायित्वका लागि एक गम्भीर प्रतिबद्धताका खातिर भेला भएका छौं ।

हाम्रा मुलुकहरू एकसाथ गतिशील छन् । हाम्रा नागरिकहरूको रचनात्मक सरलता तथा परिश्रम, प्राकृतिक समृद्धि तथा उदारता, सभ्यताहरूको समृद्धि र गहिराइ अनि विविध संस्कृतिहरू र विरासतहरूको भव्यता । र, बिमस्टेकको यो एक अनुपम मञ्चले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण–पूर्वी एसियालाई पनि गाँस्छ । र, यसले महासागरहरूका साथ पहाडहरूलाई पनि जोड्छ । र, पारिस्थितिकीय परस्पर निर्भरतालाई पनि मजबुत गराउँछ । हाम्रा नेतृत्वहरूमा एक संकल्प ल्याउँछ । प्रगति, समृद्धि र दिगो विकासका लागि एक संकल्प ।

बिमस्टेक यसको हिस्सा र सदस्य राष्ट्रहरूको मात्र योग होइन । यो त्यसभन्दा अझ अधिक हो । यो एक अवधारणा पनि हो । यो यस्तो विचार हो, जसले आर्थिक गतिशीलता र गहन एकीकरणलाई उजागर गर्छ । र, राष्ट्रहरूका नागरिकको विकास आवश्यकताहरूलाई सम्बोधित गर्न सक्छ । अनि, सामाजिक प्रगतिमा तीव्रता ल्याउन तथा सहयोग र साझेदारीलाई बढावा दिने विचार हो यो ।

यो एक गन्तव्य पनि हुन सक्छ- एक समृद्ध सभ्यताको विरासतमा आधारित गन्तव्य, साझा मूल्यहरूमा स्थापित गन्तव्य, आपसी समझदारीमार्फत् आकारको गन्तव्य तथा विविधतामा एकताको जगमा उभिएको गन्तव्य । यो एक भाग्य हो- उच्च पहाडी इलाका र गहिरो समुद्रको बीचमा पारिस्थितिक तन्त्रको अर्गानिक सम्बन्धद्वारा निर्देशित एक नियति । अनि, निकटवर्ती भूगोलको आकारका साथ-साथ मजबुत जनस्तरको सम्पर्कको अथाहा सम्भावना ।

हाम्रो प्रतिबद्धता सबैभन्दा माथि छ । हाम्रा अर्थव्यवस्थाहरू, हाम्रो व्यापार र वाणिज्यको गहन एकीकरणका लागि एक प्रतिबद्धता । यो प्रतिबद्धता विश्वव्यापीकरणका अवसरहरू प्राप्त गर्ने अनि एसियालाई आर्थिक केन्द्रका रूपमा स्थानान्तरित गर्ने दुई दशकअघिको विचारशील प्रतिक्रिया ग्रहण गरिएको एक रूप पनि हो ।

अनि, मैले भन्नै पर्छ, एक आपसमा गाँसिएको क्षेत्रीय समूहका रूपमा पनि यसलाई विकास गर्नुपर्छ । र, जोडिएका देशहरू, समाजहरू र नागरिकहरूको एक संगठनका रूपमा विकास गर्नुपर्छ ।

महामहिम राष्ट्र र सरकार प्रमुखहरू,

हाम्रो समूहसँग एक साथ अवसरहरूको एक ठूलो सम्भावनाका साथ एक आशाजनक क्षमता छ, समृद्ध प्राकृतिक संशाधनहरू तथा गतिशील तथा जीवन्त आवादीका साथ । त्यसबाहेक हामी आफ्ना पूर्वजहरूको विवेक, ज्ञान र अन्वेषणहरूद्वारा आशिर्वादित छौं ।

हाम्रा क्षमताहरूलाई साकार पार्नमा सबैभन्दा पहिले तथा सबैभन्दा महत्वपूर्ण हामीले आफ्ना नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्छ । यस्तो क्रुर गरिबी, जसले हामीलाई अवसरहरू प्राप्त गर्ने कुरामा बाधा उत्पन्न गराएर दुष्चक्रतिर डोर्‍याउँछ। अमानवीय, अन्यायपूर्ण र घातक, जसले हाम्रो क्षमतालाई टाढा राख्छ । र, हाम्रा प्रयास र अभिप्रायहरूको पनि उपहास गर्छ ।

यदि हामीले गरिबीसँग घुँडा टेक्यौं भने लाखौं मानिसलाई माथि उकास्न असफल हुनेछौं । र, हाम्रा मिहिनेती नागरिकहरूको निपुणताको मूल्य चुकाउन सक्दैनौं । यदि हामी गरिबीको अँध्यारोलाई हराउन विफल भयौं भने समृद्धिको सपना सपनामै सीमित हुनेछ ।

त्यसैले, बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । हामीले सहस्राब्दी विकास लक्ष्यको कार्यान्वयनमा भएको प्रगतिको जगमा टेकेर माथि उठ्नुपर्छ । र, दिगो आर्थिक विकासका लागि सन् २०३० को लक्ष्यलाई भेट्नुपर्छ ।

आदरणीय राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू,

हामी प्रकृतिको धेरै क्रोधलाई सहेर यहाँसम्म आइपुगेका छौं। जलवायु परिवर्तनका अनेकौं घटनाक्रमले हामीलाई असर पारिरहेका छन्। भू–क्षय र बाढीजस्ता प्रकोपका कारणले हामीले धेरै क्षति बेहोरिरहेका छौं। जसका कारण हामीले सजाय भोगिरहेका छौ, जुन गल्ती हामीले आगामी दिनमा गर्ने छैनौं।

यस्ता चुनौतीहरूको सामना गर्दै प्रकोपबाट जोगिन सामूहिक प्रयासको आवश्यकता पर्छ। हामीलाई अब जलवायु परिवर्तनका चुनौतीसँग सामना गर्न हामीले हाम्रा फरक उत्तरदायित्व र परिपक्व क्षमताहरू समान नीतिका अधारमा आपसी सहयोगलाई तीव्र बनाउन जरुरी छ।

हामी एउटै हिमालय शृंखलाको काखमा अवस्थित छौं। हाम्रा नदीका खास स्रोत हिमालय नै हो । र, ती सबै बंगालको खाडीमा पुग्छन्। बंगालको खाडीबाट उडेर आएको बादल हिमालमा ठोक्किन्छ र हाम्रो भूमिमा हिउँ र वर्षात्का रूपमा झर्छ । बंगालको खाडीबाट निस्किएको हावा हिमालयतिर उकालिन्छ र अधिक पानी पर्ने गर्छ। उच्च भागतिर आउने अत्यधिक वर्षा उच्च हिमालमा ठोकिन्छ। जसले गर्दा यसले धेरै किसिमका समस्या भोग्नुपर्छ ।

हिमालय र बंगालको खाडीले मात्र यो प्राकृतिक अवस्थालाई सृजना गरेको होइन। तर, यो अस्तित्वको बन्धन र लगातार सामूहिकता र साझेदारीको आवश्यकता पनि हो।

सम्माननीय मित्रहरू,

चौथो औद्योगिक क्रान्तिको लहरका साथ नयाँ मार्ग खुलेको छ । प्राविधिक क्रान्ति परिवर्तनीय छ । उत्पादन र खपतको पुरानो तरिका तीव्रतर रूपमा बदलिँदै छ । यस घटनाले हामीलाई चुनौती र अवसरहरूको विस्तृत मेनु प्रस्तुत गरेको छ । र, यस मेनुमा प्रशन्नता छैन ।

हामी आफ्नो जोखिममा केवल दर्शक मात्र बन्ने जोखिम उठाउन सक्दैनौं । हामीलाई सूचना र सञ्चार प्रविधिमाथि अधिकाधिक लगानी गर्नु आवश्यक छ । र, हामीले विवेकपूर्ण ढंगले लगानी गर्नु पनि अनिवार्य छ ।

सबैभन्दा महत्वपूर्ण कुरा हामीले युवा शक्तिमाथि लगानी गर्नुपर्ने आवश्यकता छ । उनीहरूमा उद्यमशीलताको भावना पैदा गर्नु आवश्यक छ । उनीहरूको रचनात्मकताको संरक्षण जरुरी छ । अन्वेषणलाई बढावा दिनु आवश्यक छ । प्रविधिको तीव्रतर परिवर्तनअनुरूप उनीहरूलाई कौशल प्रदान गर्नु आवश्यक छ ।

यसले रचनात्मकता र उत्पादनका लागि आफ्नो शक्ति र ऊर्जा अगाडि ल्याउन योगदान दिनेछ । उनीहरूलाई निराशा र जोखिमबाट बचाउनु आवश्यक छ । हामीले हाम्रा युवाको ऊर्जाको सबैभन्दा राम्रो उपयोग गर्ने प्रयास गर्नु आवश्यक छ । हाम्रा युवा र बालबालिका हाम्रा भविष्य हुन् । हामीले युवा र बालबालिका तथा भावी पिँढीका लागि मिलेर काम गर्नुछ । युवा र बालबालिकामा गरिने लगानी समृद्ध भविष्यका लागि गरिएको लगानी हो ।

सहकर्मी नेतृत्वगण,

हाम्रो क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको खतराहरूबाट प्रतिरक्षित छैन । हामीले आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।

हामीलाई सहयोगको एक उन्नत स्तर समन्वित प्रयासहरूको माध्यमबाट अन्य सबै अन्तर्राष्ट्रिय संगठित अपराधहरूसँग मुकाबिला गर्नुपर्नेछ । निरन्तर आर्थिक विकास तथा विकासका लागि शान्ति तथा स्थिरता आवश्यक छ । मलाई लाग्छ, सामाजिक न्यायका साथ तेज गतिमा विकास र न्यायसंगत वितरणका साथ तीव्रतर विकास, शान्ति र स्थिरता सुनिश्चित गर्नु महत्वपूर्ण छ ।

महामहिम सहभागीहरू,

व्यापार आर्थिक विकासका लागि एक इन्जिन हो । दुर्भाग्यपूर्ण कुरा हो, हामी यस क्षेत्रभित्र साह्रै कम व्यापार गरिरहेका छौं । व्यापार, लगानी, सीमा शुल्कको मामिलाहरूमा आपसी सहायता, विवाद निरुपण तथा व्यापार सुविधा सम्झौताहरूको प्रारम्भिक निष्कर्ष बिमस्टेकलाई प्रभावी ढंगबाट अगाडि बढाउन सहयोगी सिद्ध हुन सक्छन् । र, त्यसमा खरो उत्रिन समय आवश्यक छ ।

जब संरक्षणवादी प्रवृत्तिहरू तथा बढ्दो अवरोध संसारमा हाबी हुन थाल्छन्, तब हाम्रो समझदारीमा वृद्धि अत्यावश्यक हुन जान्छ । निष्पक्ष व्यापार हाम्रो प्रतिबद्धता सम्झिने बहाना मात्र होइन । हाम्रो सफलता ती सबै उपकरणहरूको इमानदार तथा समयबद्ध कार्यान्वयनमा निर्भर हुनेछ, जसमा हामीले हस्ताक्षर गरेका छौं ।

हाम्रो सफलता कम बाधाहरू तथा अधिक व्यापारिक सुविधाहरूमा निर्भर हुनेछ । सहज र निर्वाध पारवहन व्यवस्था, सेवा प्रवाह र लगानी वृद्धिमा पनि सफलता निर्भर हुनेछ । हाम्रो सफलता एकीकृत बजार र अर्थव्यवस्थाले सबै सदस्य राष्ट्रका लागि आत्मविश्वास पैदा गर्नेछन् । हामी भूपरिवेष्ठित तथा अल्पविकसित मुलुकहरू हौं ।

महामहिमहरू,

मेरो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य राखेको छ। हामी जहिले समृद्धि र सुखको कुरा गछौंं, तब हामी खुशी र सुख प्राप्त गर्न सहज छैन भन्नेमा पनि सचेत छौं। समृद्धि मात्र हाम्रो लक्ष्य होइन र हँसिलो अनुहार देख्न चाहन्छौंं।

हामी हरेकको अनुहारमा खुशी देख्न चाहन्छौं। यसले धेरै समुदायलाई एकजुट बनाउँदै प्रत्येकको समृद्धि चाहन्छ। सम्मानजक काम र लाभकारी रोजगारीका लागि योग्य जनशक्ति, आधुनिक कृषि, जलविद्युत आयोजनामार्फत् ऊर्जाको सम्भावित उपयोग, भौतिक पूर्वाधार विकास, पर्यटन र मानव स्रोतको विकासको माझबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्त गर्ने विषयलाई प्राथमिकता दिएका छौं।

हाम्रो यो लक्ष्यप्राप्तिको प्रयास, हामी अन्तर्राष्ट्रिय समूदायको समर्थन र सद्भावबिना सम्भव छैन। बहुपक्षीय अनिश्चिततालाई हामीले गम्भीरतापूर्वक लिँदै साझेदारीको महत्वलाई प्राथमिकता दिनुपर्छ। हाम्रा तत्काल  देखिएका चुनौतीलाई सम्बोधन गर्न वैधानिक प्रकृयाबाट बहुपक्षीय विषयलाई सामूहिक तवरबाट प्रयास गरिनुपर्छ। हरेक कदम ती ठूला हुन वा साना, तिनलाई पूरा गर्न हामीले सकारात्मक र विश्वसनीय ढंगले दायित्व पूरा गर्न स्वच्छ र न्यायिक बाटो अपनाउनुपर्छ।

हामी शान्ति प्रकृयामार्फत् निर्माण गरेको हाम्रो संविधान र यसको सफल प्रयोगबाट लोकतान्त्रिक परिधिभित्र रहेर समृद्धि र सुखको लक्ष्य प्राप्त गर्न चाहन्छौं। लोकतन्त्र, मानवअधिकार, सुशासन, कानूनी शासन, सामाजिक न्यायको आधारमा चल्ने हाम्रो प्रतिबद्धता छ। हामी पूर्ण लोकतन्त्रप्रति विश्वास गर्दै राजनीतिक मात्र नभई व्यक्तिगत, आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा पूर्ण विश्वस्त छौं।

हामी समान दृष्टिकोणबाट निर्देशित छौं, हामी ‘समृद्ध क्षेत्र र सुखी जनता’को मान्यतालाई पनि अपनाउन सक्छौं। हामी हामी कुनै पनि प्रकारको निश्चित क्षेत्रको बेरोजगारी, साना वा ठूला बहिस्करणको आवेग, बहिस्करण, असभ्यतालाई पन्छाउँदै समान दृष्टिकोणका साथ समृद्ध क्षेत्र र सुखी जनताको बाटोमा अघि बढ्न आवश्यक छ।

हामी आउँदै गरेको गहिरो आर्थिक एकीकरणको चुनौतीलाई सामना गर्न हाम्रा बहुआयामिक आर्थिक समस्यालाई पत्ता लगाउनेछौं। भौतिक कनेक्टिभिटी, व्यापार तथा वाणिज्य क्षेत्रको वृद्धि, जनताबाट जनताको बीचको सम्बन्धलाई विस्तार गर्नुपर्छ।

महामहिमहरू, 

क्षेत्रीय समन्वयलाई बलियो बनाउन कनेक्टिभिटी मुख्य उत्प्रेरक हो । र, यो एक महत्वपूर्ण जग पनि हो, जसमा आर्थिक एकीकरणको भवन खडा हुन सक्छ । भौतिक तथा डिजिटल क्षेत्रमा उद्योग, बजार र अन्वेषणको मानसिकता तयार पार्न पनि कनेक्टिभिटी अत्यावश्यक छ ।

हामीले क्रस–रिजनल सञ्जालमा आफ्नो लगानीलाई तीव्र बनाउन आवश्यक छ । सडक, रेल, हवाई, जलमार्गबाट हाम्रो कनेक्टिभिटीको क्षमतालाई उजागर गर्नु आवश्यक छ । त्यसबाट व्यापार, लगानी, ऊर्जा, पर्यटन र प्राविधिक हस्तान्तरणलाई सार्थक रूप दिन सकिन्छ ।

यातायात कनेक्टिभिटीमाथि बिमस्टेक गुरुयोजनाको मस्यौदा ग्रहण गर्ने तथा यातायातमार्फत् क्षेत्रीय उपकरणहरूलाई समयमै निष्कर्ष दिन सके हाम्रो सहयोगलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।

मानिस कनेक्टिभिटीका चालक र लाभार्थी दुवै हुन् । बौद्ध धर्म यस क्षेत्रको एक मजबुत साँघु हो । बिमस्टेकका सबै सदस्य राष्ट्रहरू बौद्ध धर्मसँग गाँसिएका छन् । बुद्धलाई जन्म दिएको देशको प्रधानमन्त्रीका रूपमा म कनेक्टिभिटी र पर्यटनलाई बढावा दिन यस क्षेत्रमा बौद्ध सर्किटको विकास र सञ्चालनको महत्वलाई रेखांकित गर्न चाहन्छु ।

प्रिय मित्रहरू, 

बिमस्टेकको सफलताको परिणाम यसले हासिल गर्ने उपलब्धिबाट नाप्न सकिनेछ । नीति, संस्थानहरू र संशाधनहरूको सही मिश्रणका साथ एक मजबुत राजनीतिक इच्छाशक्ति बिमस्टेकको सफलतालाई सुनिश्चित गर्न सक्छ ।

जसरी हाम्रो संगठन विकसित हुनेछ, हामीले यसलाई एक ठोस कानूनी आधार प्रदान गर्नका लागि चार्टर (बडापत्र) तयार गर्नु आवश्यक छ ।

म बंगलादेशका राजदूत एम शाहिदुल इस्लामको नियुक्तिको स्वागत गर्छु, जो बिमस्टेकको महासचिवको रूपमा हुनुहुन्छ । उहाँको सफल कार्यकालको शुभकामना दिन चाहन्छु । सचिवालयलाई आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने गरी मजबुत बनाउनु आवश्यक छ ।

नेपाल सार्थक क्षेत्रीय सहयोगका लागि खडा छ । सार्क र बिमस्टेक एकअर्काका पूरक होइनन् तर एक दोस्राका पूरक पनि हुन् । हामी बीबीआईएनमार्फत् उपक्षेत्रीय सहयोगलाई अगाडि बढाउन प्रतिबद्ध छौं । म फेरि पनि बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता दोहोर्याउँछु ।

मापन, गति र सहकार्यको वास्तविकताका क्षेत्रहरूको सम्भावनाहरूमा मेल खानु आवश्यक छ । यसका लागि हामीले समयको सार महशुस गर्नुपर्छ । अब काम गर्ने तथा हाम्रा प्रयासहरूलाई तीव्र बनाउने समय हो । हामीसँग विचार गर्ने समय छैन । र, वितरित गर्ने समय पनि छैन । अब हामीले विगतमा गरेका बाचाहरूलाई कार्यान्वयन गरेर देखाउने समय आएको छ ।

धन्यवाद

सम्मेलनपछि रात्रीभोज

साँझ करिब छ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिन्छ । त्यसपछि अतिथिहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख/राष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ आयोजना गरेका छन् । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।

शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मुलनारा रहेको सम्मेलनमा बिमस्टेक क्षेत्रमा प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ ।

सम्मेलनमा स्वतन्त्र व्यापार, बिमस्टेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुनेछन् ।

बुधबार बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले विद्युत प्रसारण लाइन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुलाई अगाडि बढाउने निर्णय गरिसकेको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार