चौतर्फी विरोधपछि सरकारले हटायो जोर-विजोर, आजैबाट सबै सवारी गुड्‍न पाउने

काठमाडौं, १४ मंसिर – उपत्यकामा मंसिर १३ गते देखि १६ गते सम्म लागु भएको जोर-जिवोर प्रणाली आजैबाट हट्ने भएको छ । गृहमन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले सुचना जारी गर्दै शुक्रबार बिहान ११ : ३० बजेबाट जोर- विजोर प्रणाली हटाइने जनाएको छ ।

सरकारले उपत्यकामा चल्ने सवारीसाधनमा बिहीबारबाट लागू गरेको जोर–बिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती खेप्नुपरेको थियो। अन्य दिनभन्दा आधा मात्रै सार्वजनिक यातायातका साधन सञ्चालन हुँदा समयमै कार्यालय पुग्नुपर्ने कर्मचारी, अस्पताल जान हिँडेका बिरामी, कलेजबाट फर्केका विद्यार्थी, मन्दिर हिँडेका तीर्थयात्रीलगायत अन्य सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य भएका थिए।

शुक्रबारबाट काठमाडौंमा सुरु हुने एसिया प्यासेफिक समिटमा नेपाल आउने विदेशी पाहुनाको आवतजावतलाई सहज गर्न सरकारले बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरेको हो। यो नियम आइतबारसम्म जारी रहने ट्राफिक प्रहरी महाशाखाले जनाएको थियो।

उपभोक्ता हित संरक्षण मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै जोर–बिजोर प्रणाली तत्काल हटाउन माग गरेको थियो। जोर–बिजोर प्रणाली जनतामाथि गरिएको अपराध भन्दै मञ्चले स्वस्फूर्त अवज्ञा गर्न सर्वसाधारणलाई आग्रह पनि गरेको थियो। मञ्चले भविष्यमा जनतालाई सास्ती दिने कुनै पनि निर्णय नगर्न सरकारसँग माग समेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार