घर र विद्यालयबाट अवहेलित बालकले गरे आत्महत्या, गम्भीर सुसाईड नोट

'म विरामी छु भन्दा पनि शिक्षक/शिक्षिकाले नपत्याएर उल्टै कुटे'

काठमाडौं – ललितपुर जिल्लाको बागमती गाउँपालिकामा एक बालकले सुसाईड नोट लेखेर आत्माहत्या गरेका छन् । आफू परिवार र विद्यालयमा समेत अवहेलित हुनुपरेकोले आत्महत्या गर्न बाध्य भएको उनले आफ्नो सुसाईड नोटमा लेखेका छन् ।

ललितपुरको वागमती गाउँपालिका वडा नं २ स्थित माल्टा स्थायी घर भएका ११ वर्षीय समिर लुङ्वाले आत्महत्या गरेका हुन् । सोही गाउँपालिकामा पर्ने कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत लुङ्वाले घरपरिवार र विद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै एउटा चिठी अर्थात् सुसाइट नोट लेखेर आत्महत्या गरेको उनका छिमेकीहरुले बताएका छन् ।

विद्यालयमा आफूलाई हेलागर्ने शिक्षक शिक्षिकाको समेत नामै किटान गरेर उनले सुसाईड नोटमा लेखेका छन् । कक्षामा केटालाई मात्रै पिट्ने र केटीहरुलाई केही पनि नगर्ने र आफूलाई त झनै माया नै नगरेको आरोप उनले सुसाईड नोटमा लेखेका छन् ।

उनले लेखेको सुसाइड नोटमा भनिएको छ ‘मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु। मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजुले हेला गर्ने। कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भने । म यति भन्दै बिदा माग्छु । म एघार वर्ष भएँ । म जन्मेको महिना कार्तिक १४ गते हो । हस्, म यो संसार छोडेर जाँदैछु ।’

यसरी एक्लोपनको महसुस गर्दै ११ वर्षे बालकले गरेको आत्महत्याले विद्यालय र घरको वातावरणबारे गम्भीर चिन्ता देखिएको छ।बालमनोविज्ञानलाई बेलैमा बुझ्न नसक्दा भएको यो पीडादायी घटनाले हाम्रो शिक्षालय अनि समाजको व्यवस्था र त्यहाँको विकृतीलाई पनि उदाङगो पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार