यसरी खुल्दैछ अकुत सम्पतिको पोको, नासु झाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, १६ असार  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति छानबिन र मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । हाल अख्तियारले सरकारका विभिन्न निकायमा कार्यरत झन्डै ३ सय कर्मचारीमाथि अकुत सम्पत्तिमाथि छानबिन गरिरहेको छ ।

सोही क्रममा अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन नायब सुब्बा (नासु) ललितकुमार झा र उनकी श्रीमती सुचितादेवीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । झा हाल इलाका प्रशासन कार्यालय बर्दिवासमा कार्यरत छन् ।

अख्तियारले झा दम्पतीविरुद्ध १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बिगोसमेत दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । २०४० सालदेखि गत जेठसम्म जाँच अवधिको आयव्यय तथा सिर्जित सम्पत्ति विश्लेषण गर्दा २ करोड २८ लाख ६४ हजार ७ सय ३० रुपैयाँ आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले झामाथि पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । मुखिया पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै नासु पदमा हुँदा विमानस्थल अध्यागमन कार्यालयमा काम गर्दा उनले भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनको वैध आम्दानीको तुलनामा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको भागको स्रोत नखुलेको बताउँदै अख्तियारले सो गैरकानुनी सम्पत्तिबराबरको बिगो माग गरेको हो । झा दम्पतीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

अख्तियारले सरकारका यातायात, मालपोत, नापी, भन्सार, राजस्व कार्यालय, अध्यागमन कार्यालयलगायतका निकायमा कार्यरत कर्मचारीको सम्पत्तिमाथि एकपटक छानबिन अघि बढाइरहेको छ । ती निकायमा कार्यरत कर्मचारीले करोडौं सम्पत्ति आर्जन गरेको र स्रोत खुलाउन नसक्ने भएपछि उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियार स्रोतका अनुसार कर्मचारीले भ्रष्टाचार गरेर कमाइ गरेको सम्पत्ति भारतको गुडगाउ, दिल्ली आसपासका क्षेत्र तथा अन्य देशमा समेत लगेकाले सो रकम पत्ता लगाउन कठिन भइरहेको छ । हुन्डीमार्फत भारत तथा अन्य देशमा करोडौं रुपैयाँ लगेको भन्ने सूचना प्राप्त भएको अख्तियारका एक अधिकारीले बताए ।

अख्तियारका अनुसार अख्तियारको इन्टिलिजेन्सी समूहले केही महिनादेखि विदेशमा सम्पत्ति लैजाने कर्मचारीबारे विशेष निगरानी गर्दै आइरहेको छ । विदेशमा रकम लैजाने कर्मचारीको सम्पत्ति पत्ता लगाउन अख्तियारले विभिन्न रणनीति तय गर्न थालेको स्रोतले जानकारी दिएको छ । — राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार