डेंगु सरकारको नियन्त्रणबाहिर, हामी एक्लैले नियन्त्रण गर्न सकेनौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १३ भाद्र — प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ ।

डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि आमनागरिकसमक्ष आग्रह गरेको छ ।डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् ।

२०७०/७१ मा ३ सय २ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १ हजार ५२७ जना, २०७३/७४ मा २ हजार १११ जना, २०७४/७५ मा ८११ जना, २०७५/७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भइसकेका छन् ।  ४० दिनको अवधिमा प्रदेश नम्बर १ मा सबैभन्दा धेरै ५६३ डेंगुका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४० दिनमा १५३७ बिरामी, संख्या बढ्न सक्ने

यस्तै, प्रदेश नम्बर २ मा १४ जना, प्रदेश ३ मा ५५९ जना, गण्डकी प्रदेशमा ३३९ जना, प्रदेश ५ मा ५६ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना डेंगुका रोगी भेटिएका छन् । यसरी हेर्दा यो संख्या महिनामा ५ सयले बढ्दै जाने देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले दुई महिनाको अवधिमा १ हजार ५३७ जनामा डेंगु देखिएको र पीडितको संख्या बढ्दै गएको जनाएको छ । डेंगुबाट हालसम्म ३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले डेंगु नियन्त्रणका लागि घरबाटै सरसफाइ अभियान थाल्नसमेत अनुरोध गरेको छ । डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरेको हो ।

डेंगु नियन्त्रणका लागि अभियान नै चलाउनुपर्छ, आवश्यक परे सबै मिलेर डेंगुलाई परास्त गर्नुपर्ने देखिन्छ । सबै मन्त्रालयबीच समन्वय हुन आवश्यक छ

उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री

गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा फैलिएको छ ।  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशमा डेंगु नियन्त्रण अभियानअन्तर्गत सेना, प्रहरीसम्म परिचालन गर्न सकिने संकेत गरेका छन् । उपप्रधानमन्त्री यादवले भने, ‘डेंगु नियन्त्रणका लागि अभियान नै चलाउनुपर्छ, आवश्यक परे प्रहरी र सेना सबै मिलेर डेंगुलाई परास्त गर्नुपर्ने देखिन्छ ।’

मन्त्रालयले पानी जम्न सक्ने भाँडाहरू ९गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायत० मा पानी जम्न नदिने उपाय अवलम्बन गर्न सके मात्रै डेगुंको जोखिम घट्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले डेंगु नियन्त्रणमा सबै निकायको भूमिका महŒवपूर्ण भएको बताए । स्वास्थ्य मन्त्रालयले आफू एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने भन्दै विषयगत मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा। पुष्पा चौधरीले बहुक्षेत्रको समन्वयबाट मात्रै डेंगु रोग नियन्त्रण हुने बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न सक्दैन । उपचारको पाटो हामीले हेर्ने हो । तत्तत् मन्त्रालयबीच समन्वय आवश्यक छ ।’

कसरी सर्छ डेंगु ?

यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।

लक्षणहरू

–उच्च ज्वरो आउनु
–टाउको दुख्ने, पेट दुख्ने
–वाकवाकी लाग्ने
–आँखाको गेडी दुख्ने
–जिउ जोर्नी दुख्ने
–रातोरातो बिमिरा देखापर्नु

कसरी बच्ने ?

–पानी जम्न सक्ने भाँडाहरूमा पानी जम्न नदिने
–पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने
– बाहुला भएको कपडा लगाउने
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्ने
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने

उनले सरकारको सचिवस्तरीय बैठकमा समेत डेंगुको विषयमा कुरा उठाएको भए पनि बैठकमा त्यसको सुनुवाइ नभएको बताइन् । ‘मैले सचिवस्तरको बैठकमा पनि कुरा उठाएको थिएँ, सचिवस्तरमा कुरा गर्दा पनि खासै सुनुवाइ भएन,’ सचिव चौधरीले भनिन् । उनले डेंगु नियन्त्रणको काम प्रदेश र स्थानीय तहको भएको बताइन् ।

स्वास्थ्य सचिव चौधरीले भनिन्, ‘स्वास्थ्य मन्त्रालय भएकाले हाम्रो जिम्मेवारी अलिक बढी देखिन्छ तर अब पालिकाहरू शिक्षा मन्त्रालयको जिम्मेवारी हो, गृह मन्त्रालय, रक्षा मन्त्रालयले सेना परिचालन गरेर हुन्छ कि सबै निकाय मिलेर नियन्त्रण गर्नुपर्ने अवस्था छ ।’ — राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार