९.९ मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियाे

ताप्लेजुङ, ६ असाेज — ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रो पावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.९ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्र्तगत पाँचथरको अमरपुरस्थित सवस्टेशनमार्फत असोजको सुरुबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको परियोजना निर्देशक कुबेरमणि नेपालले जानकारी दिए । निजी क्षेत्रको लगानीमा सम्पन्न भएको आयोजना २०७३ सालदेखि सुरु भएको थियो ।

दुई वर्षभित्रै अर्थात् २०७५ जेठमा सम्पन्न गर्ने लक्षका साथ आयोजनाको निर्माण सुरु भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि बढेको बताइएको छ । कूल रु एक अर्ब ६० करोडको लागतमा सम्पन्न गर्ने योजना भए पनि पहिरो लगायतका कारण १५ प्रतिशत लगानी बढेको नेपालले बताए।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ मा पर्ने साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिकास्थित थर्पुको पुछारमा पर्ने काभ्रे दोभानमा हेडबक्स रहेको आयोजनाको विद्युत्गृह भने थर्पुको दाहाल गाउँस्थित त्रिवेणीमा रहेको छ । आयोजनाको बाँधस्थलदेखि तीन किलोमिटर पाइपलाइनबाट विद्युत्गृहमा पानी पुर्‍याइएको छ ।

आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत लगानी रहेको यो आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रो पावर कम्पनीको र ५० प्रतिशत भने सञ्चालक तथा संस्थापक शेयर धनीको लगानी छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार