स्वतन्त्र प्रेसमाथि सभामुखको अमर्यादित, आपत्तिजनक टिप्पणी

काठमाडौं, ३ चैत – सभामुख देवराज घिमिरेले स्वतन्त्र प्रेसमाथि आपत्तिजनक आक्षेप लगाउँदै अमर्यादित टिप्पणी गरेका छन् । आज शुक्रबार उनलाई भेट्न संसद सचिवालय पुगेको पत्रकार महासंघ प्रतिनिधिमण्डलसँग कुरा गर्ने क्रममा सभामुख घिमिरेले पदीय मर्यादाबाहिरका गैरजिम्मेवारी टिप्पणी गर्न पुगेका हुन् ।

‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन’, घिमिरेले भने, ‘पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’ पत्रकारहरुकै बीचमा रहेर सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका छन्, ‘पत्रकारहरु बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले रोकि राख्नुपर्दैन ।’

आफ्नो यस्तो गम्भीर टिप्पणीलाई बाहिर नभन्न स्वयम सभामुख घिमिरेले पत्रकारहरुसित आग्रह पनि गरेका छन् । ‘यो (आफ्नो गम्भीर आरोप) भन्न पनि हुँदैन तपाईंहरुले किनभने यो हाम्रो आफ्नो भित्री कुरा हो नि,’ उनले भने ।

सभामुखजस्तो गरिमामय र तटस्थ संवैधानिक कर्तव्य निर्वाह गर्नुपर्ने पदमा बसेर घिमिरेले तल्लो स्तरको अभिव्यक्ति दिएकामा सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् । चौतर्फी टिकाटिप्पणी हुन थालेपछि सभामुख सचिवालयका तर्फबाट त्यसलाई सच्याउन खोजिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार