प्रधानमन्त्री देउवा पाँचदिने भारत भ्रमण सकाएर स्वदेश फिर्ता

भ्रमण सफल भएको जिकिर

काठमाडौं, ११ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा आइतबार बेलुकी स्वदेश फर्किका हुन् । प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण समग्रमा सफल भएको जिकिर गरेका छन् ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण मुलुकका लागि निकै फलदायी भएको बताए ।
स्वदेश फर्कनुअगाडि प्रधानमन्त्री देउवाले आइतबार बिहार राज्यमा रहेको बोधगयामा पुगी विशेष पूजा तथा अवलोकन गरेका थिए ।

बोधगयामा प्रधानमन्त्रीले एक घन्टाभन्दा बढी समय बिताउँदै त्यसबारेमा जानकारी लिएका थिए । बोधगया मन्दिर र धार्मिकस्थलको अवलोकनपछि प्रधानमन्त्री देउवाले बुद्धको लोकप्रियता संसारभरि नै बढ्दै गएको बताए ।

यसअघि, शनिबार देउवाले भारतको आन्धप्रदेशमा रहेको तिरुपति मन्दिरको दर्शन गरेका थिए । शनिबारै प्रधानमन्त्री देउवाले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग भेट गरी भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा परेकोबारेमा कुरा गरेका थिए ।

पटकपटक स्थगित भएर असोज २ मा निर्धारित प्रदेश नम्बर २ को चुनावको पूर्वसन्‍ध्या र प्रदेश एवं संसदीय चुनावको तयारीबीच दिल्ली पुगेका देउवाको भ्रमण राजनीतिक हिसाबले निकै महत्वपूर्ण थियो।

देउवाले पाँचदिने भारत भ्रमणको क्रममा राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गरेका थिए । मोदीसँग भेटवार्ता भएपछि नेपाल र भारतबीच भएको ८ बुँदे सहमति र ४६ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

त्यसमध्ये चार बुँदा भूकम्पपछिको पुनर्निर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन् । एउटा सम्झौता ५० हजार घर पुनर्निर्माणसँग सम्बन्धित छ । भूकम्प प्रभावित क्षेत्रको शिक्षा र साँस्कृतिक सम्पदा पुनर्निर्माणबारे पनि समझदारी भएको छ ।

यसैगरी रक्सौल-परवानीपुर र कुशाहा-कटैया अन्तरदेशीय प्रसारण लाइनको पनि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यससँगै आगामी हिउँदको भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ । ती अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले भारतबाट थप ५०-५० मेगावाट विद्युत् आयात गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार