आज माघेसङ्क्रान्ति, दुई सय वर्षपछि मकर संक्रान्तिमा मकर राशिमा पाँच ग्रहको संयोग

काठमाडौं – आज माघेसङ्क्रान्ति  पर्व सूर्य मकर राशिमा आएपछि मकर संक्रान्ति पर्व मनाइन्छ । यसपटक मकर राशिमा सूर्यसँगै चन्द्रमा, बुध, बृहस्पति र शनि पनि रहेका छन् । यी पाँच ग्रहको योग दुई सय वर्षमा पहिलो पटक बनेको हो ।

साथै बिहीबार पाँच राजयोग बनेको छ । यसमा सूर्य उत्तरायण हुनु शुभ मानिन्छ । मकर संक्रान्तिमा मंगल, शनि, बृहस्पति र चन्द्रमासँगै रुचक, शश, गजकेसरी, दान र पर्वत नामको राजयोग बनेको छ । यसमा तीर्थ स्नान, पूजा र दान गर्दा पूण्य मिल्दछ । यसका लागि बिहान ८ः४४ देखि साँझ सूर्यास्तसम्म पूण्यकाल रहने छ ।

थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ ।

यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने परम्परा छ ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ ।

सरकारले वि.सं. २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । वि.सं. २०७२ देखि भने माघ १ गतेलाई थारू समुदायले अझ बृहतरुपमा मनाउन थालेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार